मानिसले स्वभाविक र आत्मिक दुवै क्षेत्रमा आफ्नो दायराभित्र मात्र अधिकार प्रयोग गर्न सक्छ । उदाहरणका लागि, एउटा विश्वासीसँग उसको घर परिवारभित्र वा उसको घरानाका सदस्यहरूको जीवनमाथि रहेको दुष्ट आत्माहरूमाथि मात्र अधिकार हुन्छ (प्रेरित १६:१५,३१; मत्ती ८:१-१३) । तर एउटा विश्वासी आफ्नो अधिकारबाहिर वा अधिकारक्षेत्रबाहिर गई अरूका लागि प्रार्थना गर्दा उसले ती व्यक्तिहरूको अनुमति लिनुपर्छ ताकि उनीहरूको सट्टामा उसले तिनीहरूमाथि कुनै आत्मिक अधिकार चलाओस् ।
यही कारणले गर्दा प्रभु येशूले हामीलाई ‘सहमति’ मा प्रार्थना गर्नुपर्छ (मत्ती १८:१९) र दुवै पक्षलाई परमेश्वरको वचनको सहमतिमा ल्याउनुपर्छ भन्नुभएको हो । यदि अरू कसैका लागि आफ्नो क्षेत्रअधिकार बाहिर गएर प्रार्थना गर्छौं भने, त्यो मानिस हामीसँग सहमत हुनु आवश्यक छ । यसरी हाम्रो प्रार्थना प्रभावशाली बन्न सक्छ ।|
सहज रूपमा शैतानको सामना गर्न हामीले शैतानको राज्यमाथिको हाम्रो अधिकारका सीमितताहरू पनि जान्नु आवश्यक छ । उदाहरणका लागि, मानिसहरूको जीवनमाथि रहेको शैतानको सामर्थ्यलाई प्रभु येशूको नाममा तोड्ने अधिकार हामीसँग छ (मत्ती १८:१८,१९; फिलिप्पी २:९,१०) । यसरी ख्रीष्टलाई स्वीकार गर्न हामी उनीहरूलाई सहज बनाइदिनसक्छौँ । यद्यपि, उनीहरूसँग अझै पनि स्वतन्त्र इच्छा हुन्छ । त्यो नै निर्णायक विन्दु हो– उनीहरूले ख्रीष्टलाई स्वीकार गर्न सक्छन् अनि इन्कार गर्न पनि सक्छन् । कुनै व्यक्तिको जीवनमाथि रहेको शैतानको सामर्थ्यलाई हामीले तोड्यौँ भने, त्यो व्यक्ति शैतानको प्रभावबाट अलग हुन्छ । यसकारण ख्रीष्टलाई स्वीकार गर्ने वा इन्कार गर्ने भन्ने विषयमा उसले स्वतन्त्र रूपमा निर्णय गर्न सक्छ ।
तर कुनै शहरमाथि रहेको दुष्ट आत्माको पकडलाई सधैँका लागि तोड्ने विषयमा भने बाइबलमा कहीँ पनि बताइएको छैन किनभने शहर मानिसहरूको समुदाय हो । मानिसहरूसँग स्वतन्त्र इच्छा हुन्छ । कसको सेवा गर्ने– परमेश्वरको वा शैतानको– भनेर रोज्ने अधिकार उनीहरूसँग छ । प्रत्येक शहरमा कयौँ मानिसहरूले शैतानलाई रोजेर त्यसको सेवा गर्छन् अनि निरन्तर त्यसप्रति समर्पित हुन्छन् । तर हामी प्रार्थनामा अन्धकारको प्रभावलाई पछाडि धकेल्नसक्छौँ ताकि सुसमाचार प्रचारद्वारा मानिसहरूको हृदय तथा जीवनमा वचनको प्रभुत्व हुन सकोस् ।
यही सिद्धान्तद्वारा भूत आत्माका क्रियाकलापहरूको सवालमा विश्वासीहरूले प्रयोग गर्ने अधिकारको एक दायरा छ । अर्को शब्दमा, म आफ्नो जीवनमा शैतानमाथि अधिकार गर्नसक्छु तर म अरू मानिसहरूको जीवनमा उनीहरूले अनुमति नदिएसम्म शैतानमाथि शासन गर्नसक्दिनँ । कुनै व्यक्तिले आफ्नो जीवनमा शैतानको चाहना गर्न सक्छ । उसले अन्धकारका कामहरू मन पराएर ज्योतिमा आउने चाहना नगर्न सक्छ । कसको सेवा गर्ने भनेर रोज्ने हक प्रत्येक व्यक्तिसँग हुन्छ र तपाईं उसको स्वतन्त्र इच्छा हनन गर्न सक्नुहुन्न ।
प्रभु येशूको नाममा हाम्रो जीवनमाथि हामीलाई दिइएको अधिकारलाई जब हामी अरूको जीवनमाथि प्रयोग गर्न खोज्छौँ, तब हामी गल्ती गर्छौं । हामीसँग त्यस्तो प्रकारको अधिकार छैन । हामी आफ्नो जीवनबाट शैतानलाई भगाउन सक्छौँ तर अरूको जीवनबाट भने उनीहरूले अनुमति नदिएसम्म हामी शैतानलाई निकाल्नसक्दैनौँ । कुनै व्यक्तिको छुट्कारामा उसको स्वतन्त्र इच्छाको ठूलो हात हुन्छ ।
एउटा उदाहरण म तपाईंलाई दिन्छु । म आफ्नो रुपैयाँ-पैसा कारोबार समाल्न सक्छु तर तपाईंले मलाई अधिकार नदिएसम्म म तपाईंको रुपैयाँ-पैसा समाल्न सक्दिनँ । अँ, आत्मिक कुराहरू स्वभाविक कुराहरूझैँ वास्तविक हुन्छन् तर जब आत्मिक क्षेत्रको कुरा आउँछ, अरू मानिसहरूको सहमति बेगर नै हामी उनीहरूको जीवनमाथि अधिकार गर्न सक्छौँ भनेर हामीले सोचेजस्तै देखिन्छ । अनि कहिलेकहीँ मानिसहरू आफू सहमत भएझैँ अभिनय गर्छन् वा उनीहरू सहमत भएझैँ देखिन्छन् तर, वास्तवमा, उनीहरूको हृदयले साँचो रूपमा त्यसलाई स्वीकार गरेको हुँदैन । जबसम्म मानिसहरू आफ्नो हृदयबाट सहमत हुँदैनन्, तबसम्म तपाईं उनीहरूलाई छुट्कारा वा चङ्गाइ दिन सक्नुहुन्न । प्रेरित १६ मा पावलको सेवकाइमा प्रकट भएझैँ परमेश्वरको आत्माको अलौकिक प्रकटीकरण भयो भने, त्यो भिन्न कुरा हो ।
तर जबसम्म कुनै व्यक्तिको मानसिकता र इच्छा कार्यरत हुन्छन् र उसले आफूलाई नियन्त्रण गर्न सक्छ, तबसम्म उसको छुट्काराको सवालमा उसकै निर्णय सर्वोपरी हुन्छ । त्यसैकारणले हामीले मानिसहरूलाई शैतानको सामना गर्नुपर्ने उनीहरूको जिम्मेवारीको विषयमा सिकाउनुपर्छ, जुन परमेश्वरको वचन र पवित्र आत्माको भरिपूरीमा जिउनु र आफ्ना लागि आफैँ शैतानविरुद्ध खडा हुनु हो । अनि यदि कोही मानिस तपाईंसमक्ष सहायताका लागि आउँछ भने, तपाईंले उसलाई शैतानलाई बाँधेर त्यसविरुद्ध आफैँ खडा हुन सिकाउनुपर्छ ।
उदाहरणका लागि, जब मानिसहरू मकहाँ सहायताका निम्ति आउँछन्, म साधारणतया तिनीहरूलाई मद्दत गर्नसक्छु किनभने मकहाँ आएर तिनीहरूले उनीहरूलाई मद्दत गर्नका लागि मलाई अधिकार र अनुमति दिइरहेका छन् । उनीहरूसँग मलाई मद्दत गर्न दिने मानसिकता रहेसम्म म उनीहरूलाई मद्दत गरिरहनसक्छु । अन्यथा, उनीहरूलाई स्वतन्त्रता प्रदान गर्नका लागि मलाई आत्माका वरदानको अलौकिक प्रकटीकरणको आवश्यक पर्छ ।
स्मिथ विगल्सवर्थले विश्वासीहरूसँग भएको अधिकारको क्षेत्रलाई पुष्टि गर्ने एउटा कथा भनेका छ । एक पटक विगल्सवर्थ जहाजमा संयुक्त राज्य अमेरिकाबाट इङ्ल्याण्ड फर्किरहेका थिए । सो यात्रामा एक जना अपरिचित व्यक्ति उनकै क्याबिनमा यात्रा गरिरहेका थिए । ती अपरिचित व्यक्ति जवान थिए र विगल्सवर्थ क्याबिनमा प्रवेश गर्दा ती व्यक्ति रोगले सिकिस्त भएर आफ्नो ओछ्यानमा सुतिरहेका थिए ।
ती मानिसको शरीरमा हाड र छाला मात्र थियो । उनले विगल्सवर्थलाई भने, “म इङ्ल्याण्ड जाँदै छु । हालसालै मेरा बुबा बित्नुभयो र मैले उहाँको सबै धनसम्पत्ति आर्जन गरेको छु तर म त्यो सम्पत्तिलाई रक्सी पिएरै सिध्याउनेछु; म जुवा-तास खेल्नेछु र बिलासितामा सबै धन उडाउनेछु । मैले यति धेरै पिइसकेँ कि म अब केही खान पनि सक्दिनँ । मेरो पेटमा अल्सर छ ।”
विगल्सवर्थले ती मानिसलाई पहिला कहिल्यै भेटेका थिएनन् । यद्यपि, विगल्सवर्थले भने, “तपाईं केवल विश्वास गर्नुहोस्; म तपाईंलाई छुट्कारा दिलाउन सक्छु ।” ती व्यक्तिले जवाफ दिए, “हो, म छुट्कारा पाउन चाहन्छु ।” विगल्सवर्थले ती व्यक्तिमाथि आफ्नो हात राखे र उनीबाट दुष्ट आत्मा निकाले । त्यसपछि ती व्यक्तिले तत्कालै चङ्गाइ पाए । अब उनी जहाजमा भएकै अवस्थामा सबै खानसक्ने भए ।
यसमा आत्मिक सिद्धान्त सम्मिलित छ । विगल्सवर्थले उनलाई भने, “तपाईं केवल विश्वास गर्नुहोस् ।” हेर्नुहोस्, विगल्सवर्थसँग ती मानिसलाई प्रभु येशूको नाउँमा स्वतन्त्र तुल्याउने क्षमता भए पनि, ती मानिसले हृदयबाटको अनुमति/सहमति नदिएसम्म उनका लागि कुनै पनि काम गर्ने अधिकार विगल्सवर्थसँग थिएन । ती मानिसले अनुमति नदिएसम्म विगल्सवर्थले उनलाई सहायता गर्न सक्दैन थिए ।
मानिससँग स्वतन्त्र इच्छा छ । त्यसकारण तपाईं कुनै पनि व्यक्तिलाई ख्रीष्टलाई ग्रहण गर्ने बनाउन सक्नुहुन्न वा कसैलाई छुट्काराको इच्छा राख्ने वा परमेश्वरले आफ्ना लागि राख्नुभएको आशिष् पाउने इच्छा गर्ने बनाउन सक्नुहुन्न । हो, तपाईं उनीहरूका लागि प्रार्थना गर्न सक्नुहुन्छ र उनीहरूको जीवनमाथिको शैतानको सामर्थ्य तोड्न सक्नुहुन्छ । यसो गर्दा उनीहरूले शैतानको प्रभावमा नरहीकन स्वतन्त्र निर्णय गर्ने अवसर प्राप्त गर्न सक्छन् । यद्यपि, यो अवस्थामा पनि उनीहरूको इच्छा नै सर्वोपरी हुन्छ ।
उदाहरणका लागि, एक जना मानिसले आफ्नी श्रीमतीलाई छुट्कारा दिलाउनका लागि मेरो एउटा सभामा लिएर आए । उनले आफ्नी श्रीमतीलाई चङ्गाइका लागि उभिएका मानिसहरूको पङ्तिमा लिएर आए र जब मैले उनका निम्ति प्रार्थना गरेँ, उनको मनमा एक दुष्ट आत्माले पकड जमाएको छ भनी थाहा पाएँ । मैले यो पनि थाहा पाएँ कि उनले इच्छा गरेको खण्डमा उनले छुट्कारा पाउन सक्थिन् । त्यसपछि के कारणले गर्दा ती स्त्रीले आफ्नो मानसिक सन्तुलन गुमाइन् भनी परमेश्वरले मलाई प्रकट गर्नुभयो । परमेश्वरले आफूसँग सुन्न सकिने आवाजमा कुरा गर्नुभयो भनी एक प्रख्यात प्रचारकले प्रचार गरेको उनले सुनेकी थिइन् । जब उनले त्यो सुनिन्, तब उनले आवाजको खोजी गर्न थालिन्– परमेश्वरको होइन बरू आवाजको खोजी गर्न थालिन् । अन्ततः उनी पागल भइन् र उनलाई मानसिक अस्पतालमा भर्ना गर्नुपर्यो ।
त्यसपछि उनका श्रीमान्ले उनलाई मेरो सभामा ल्याए । यद्यपि, उनले त्यो दुष्ट आत्माबाट छुट्कारा पाउने इच्छा गरेर त्यो आवाज सुन्ने इच्छा नत्यागेसम्म म पनि उनलाई प्रभु येशूको नाउँमा छुट्कारा दिन सक्दिन थिएँ । त्यसको फलस्वरूप ती स्त्रीका श्रीमान् मसँग पनि क्रुद्ध हुन्थे । त्यसकारण मैले त्यस पङ्क्तिमा ती स्त्रीका निम्ति प्रार्थना गरिनँ । सङ्गति सकिएर ती दुवै पति-पत्नीसँग कुरा गर्ने मौकाको प्रतीक्षा गरिरहेँ ।
उनलाई छुट्काराका निम्ति उनका श्रीमान्ले परमेश्वरका विभिन्न सेवकहरूका सभाहरूमा लगेको कुरा पनि परमेश्वरले मलाई देखाउनुभयो । तर उनले छुट्कारा पाएकी थिइनन् । त्यसैले उनका श्रीमान् सबै सेवकहरूप्रति क्रुद्ध भएका थिए । यी सबै कुरा मैले पवित्र आत्माको प्रकाशद्वारा प्राप्त गरेँ ।
परमेश्वरले मलाई प्रकट गर्नुभएका सबै कुराहरू मैले यो दम्पत्तिलाई बताएँ । ती स्त्री केही समयअघि मात्र मानसिक अस्पतालबाट बाहिर आएकी थिइन् तर उनको दिमागमा फेरि समस्या देखिएकाले उनलाई उनका श्रीमान्ले पुनः अस्पताल भर्ना गर्न गइरहेका थिए । यद्यपि, आफूलाई भनेको सबै कुरा ती स्त्री राम्रोसँग बुझ्थिन् । त्यसैले मैले उनलाई भनेँ, “बहिनी, जबसम्म तपाईं यी आवाज सुन्ने इच्छा गरिरहनुहुन्छ, तबसम्म तपाईं आवाज सुनिरहनुहुन्छ । तर यदि तपाईं छुट्कारा पाउन चाहनुहुन्छ भने, तपाईंले पाउन सक्नुहुन्छ ।”
उनले जवाफ दिइन्, “अहँ, म छुट्कारा पाउन चाहन्नँ । म यिनै आवाज सुन्न चाहन्छु ।”
यदि उनी पूरै पागल भएकी थिइन् र उनको परिवारको कोही आधिकारिक व्यक्ति, जस्तै : उनका श्रीमान्ले मलाई अनुमति दिएका भए, म उनको मनबाट दुष्ट आत्मा निकाल्न सक्थेँ वा पवित्र आत्माको वरदानद्वारा पवित्र आत्माको अलौकिक प्रकटीकरण भएको समयमा अलौकिक तरिकाले म त्यस दुष्ट आत्मालाई निकाल्नसक्थेँ ।
तर उनको मन सही निर्णय लिनका लागि सक्षम थियो र उनले तिनै आवाजलाई रोजिन् । यस्तो अवस्थामा मैले गर्नसक्ने केही थिएनँ । म उनको स्वतन्त्र इच्छालाई हनन् गर्नसक्दिनथेँ । परमेश्वरले पनि उनको स्वतन्त्र इच्छा हनन् गर्नुहुन्न तर उनले चाहेको कुनै पनि समयमा उनी प्रभु येशूको नाउँको सामर्थ्यद्वारा छुट्कारा पाउनसक्थिन् ।
अरू मानिसहरूको जीवनमा शैतानमाथिको हाम्रो अधिकारको सीमितता सम्बन्धी एक सिद्धान्त ख्रीष्टीयनहरूले बुझ्नु आवश्यक छ । मन हृदयको प्रवेशद्वार हो ।
यदि कुनै व्यक्तिको मानसिकता तपाईंले ऊसँग सञ्चार गर्नसक्ने खालको छ भने र उसले तपाईंलाई अनुमति दिन्छ भने, तपाईंले उसको जीवनबाट दुष्ट आत्मालाई निकाल्न सक्नुहुन्छ । तर यदि उसले तपाईंलाई अनुमति दिँदैन भने वा उसले दुष्ट आत्मा राख्न चाहन्छ भने, तपाईंले उसको जीवनबाट दुष्ट आत्मा निकाल्न सक्नुहुन्न ।
त्यस व्यक्तिको दिमाग ठीकसँग काम गरिरहेको छैन र उसले तपाईंलाई अनुमति दिन सक्दैन भने, परमेश्वरले तपाईंलाई अलौकिक सामर्थ्य दिनुभएको खण्डमा तपाईंले त्यस व्यक्तिलाई सताइरहेको दुष्ट आत्मालाई निकाल्न सक्नुहुन्छ । अथवा त्यो व्यक्ति केही समयका लागि परमेश्वरको वचनको शिक्षामा बस्यो भने, ऊ स्वतन्त्र हुनसक्छ ।
तर मैले यहाँ भन्न खोजेका कुरा के हो भने, आत्मिक क्षेत्रमा अरू मानिसहरूको जीवनबाट दुष्ट आत्मालाई निकाल्ने सवालमा हाम्रो अधिकार सीमित छ । जसरी स्वभाविक जीवनमा अरू मानिसप्रति हाम्रो अधिकार हुँदैन, त्यसरी नै आत्मिक क्षेत्रमा पनि हामी आफ्नै इच्छाले अरू मानिसको जीवनको निर्णय लिनसक्दैनौँ ।
केही विश्वासीहरूले यो पद प्रयोग गर्दा एउटा गल्ती गर्ने गर्छन्, “विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्– मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्… ” (मर्कूस १६:१७) । अनि उनीहरू आफूले भेटेका सबै मानिसहरूबाट दुष्ट आत्मा निकाल्ने प्रयास गर्छन् ।
हेर्नुहोस्, आफूले भेट्ने हरेक मानिसको जीवनमाथि तपाईं अधिकार चलाउन सक्नुहुन्न । यस पृथ्वीमा सेवकाइ गर्दा प्रभु येशूले यस्तो गर्नुभएन, न त प्रेरितहरूले नै गरे । त्यसकारणले हामीले यसो गर्नु सही हुँदैन । वास्तवमा, हामीले भेट्ने हरेक मानिसबाट दुष्ट आत्मा निकाल्न प्रयास गर्ने ढाँचा नयाँ करारमा कहीँ पनि छैन ।
धेरै समय राम्रो अभिप्राय भएका ख्रीष्टीयनहरू जब प्रभु येशूको नाउँमा प्राप्त आफ्नो अधिकार देख्छन्, तब उनीहरू अति उत्सुक हुन्छन् र उत्तेजनामा जोसुकैबाट दुष्ट आत्मा निकाल्न सकिने रहेछ भनी विश्वास गर्छन् । उनीहरू सोच्छन्, “म कोही हुँ । मसँग सामर्थ्य छ । म आश्चर्यकर्म गर्नसक्छु वा म अलौकिक क्षेत्रमा काम गर्नसक्छु ।” अहँ, उनीहरू आफ्नै सामर्थ्यमा परमेश्वरको अलौकिक काम गर्न सक्दैनन् ! कसैले पनि सक्दैन । आश्चर्य-कर्म त पवित्र आत्माले गर्नुहुन्छ, मानिसले होइन । अनि शैतानको सामना गर्दा हामीले पूर्ण रूपमा पवित्र आत्मामाथि निर्भर हुनु आवश्यक छ ताकि हामीले वचनअनुसार ज्ञान र बुद्धिद्वारा आत्माको अगुवाइ पाउनसकौँ ।
त्यसकारण, हेर्नुहोस्, अरूको जीवनबाट दुष्ट आत्मा निकाल्ने सवालमा हाम्रो अधिकार सीमित छ । तर तपाईंको व्यक्तिगत जीवनको बारेमा चाहिँ नि ? उदाहरणका लागि, आफ्ना सम्पत्तिबाट दुष्ट तथा भूत आत्माहरूलाई टाढा राख्ने सवालमा आफूसँग कति अधिकार छ भनी मानिसहरूले मलाई सोध्ने गरेका छन् । आफ्नो धनसम्पत्तिमाथि पकड जमाउन खोज्ने शैतान तथा दुष्ट आत्मामाथि विश्वासीहरूसँग अधिकार छ । वास्तवमा, हाम्रो अधिकारको सीमितताका बावजूद पनि प्रभु येशू ख्रीष्टको मण्डलीसँग हामीले सोचेभन्दा अत्यन्त धेरै अधिकार छ !
फिलिपिन्समा मिसनरी भएर गएका आर्नी रेबको जीवनमा भएको एउटा घटनाको बारेमा म तपाईंलाई बताउन चाहन्छु । उनको सम्पत्तिमा शैतानले पकड जमाउने प्रयास गरेको थियो । रेब भाइ शैतानको भयङ्कर पकड भएको ठाउँ भनेर चिनिने एउटा टापुमा बसाइँ सरेर गएका थिए ।
रेब भाइले उक्त टापुमा आफ्नो घर निर्माण गरिरहेका थिए र निर्माणको क्रममा उनको एक सिकर्मी चिच्याउन-कराउन थाल्यो । रेब भाइ के भएछ भनेर हेर्न गए । उक्त सिकर्मी कसैसँग कुस्ती लडिरहेझैँ यसो भन्दै भुइँमा लडिबडि गरिरहेको थियो, “मबाट यसलाई निकालिदेऊ ! मबाट यसलाई निकालिदेऊ !”
रेब भाइले भने, “मैले उक्त सिकर्मीको प्यान्टको फेर च्यातिएको देखेँ । उसको खुट्टामा दाँत गाडिएको घाउजस्तै देखियो; उक्त घाउबाट रगत बग्न थाल्यो । त्यो सबै घटना भइरहँदा त्यो सिकर्मी चिच्याइरहेको थियो, ‘यसलाई मबाट हटाऊ !’ त्यो शैतान हो भनी मैले ठम्याएँ । मैले भनेँ, ‘म तँलाई प्रभु येशू ख्रीष्टको नाउँमा त्यस व्यक्तिलाई छाडेर जाने आज्ञा दिन्छु ! यो मेरो इलाका हो । मेरो सम्पत्तिमा तेरो केही अधिकार छैन !’”
जब रेब भाइले त्यस भूत आत्मालाई निस्केर जाने आज्ञा दिए, त्यो दौडेर गयो । रेब भाइले भने, “मैले त्यो भूत आत्मालाई त्यसपछि देखिनँ तर अर्का एक व्यक्तिले त्यो निस्केर सुइँकुच्चा ठोकेको देखे । त्यो घटनापछि, अन्य सिकर्मीहरू त्यहाँ काम गर्न डराए । एक जना झाँक्री आए र भूत आत्माहरूलाई रिझाएर शान्त पार्नका लागि एउटा सुँगुर र एउटा कुखुराको बलि दिन चाहेको बताए ।
रेब भाइले ती झाँक्रीलाई भने, “अहँ, तपाईं मेरो जमिनमा नआउनुहोस् । मेरो जमिनमा तपाईंले कुनै पनि बलि नचढाउनुहोस् ! यहाँ कुनै दुष्ट आत्मा छैन । मैले ती दुष्ट आत्मालाई कहिल्यै पनि नआओ भनेर आज्ञा दिएको छु र तिनीहरू कहिल्यै फर्केर आउनेछैनन् । उक्त सिकर्मीलाई काममा फर्काइदिनुहोस् । त्यो घटना फेरि हुनेछैन ।”
हेर्नुहोस्, ती भूत आत्माहरूले रेब भाइलाई चिने र उनलाई ख्रीष्टमा आफ्नो अधिकार थाहा छ भन्ने कुरा जाने । यदि तपाईं विश्वासी हुनुहुन्छ भने, भूत आत्माहरूले तपाईंलाई चिन्नेछन् । ख्रीष्टमा रहेको आफ्नो अधिकार तपाईंले प्रयोग गर्नुभयो भने, तिनीहरू तपाईंबाट भाग्नेछन् तर तपाईंले आफ्नो अधिकार प्रयोग गर्नुभएन भने, तिनीहरूले तपाईंबाट फाइदा उठाउनेछन् किनभने तिनीहरू चोर्ने, नाश गर्ने र घात गर्ने अभियानमा लागिपरेका छन् (यूहन्ना १०:१०) ।
उक्त झाँक्रीले रेब भाइलाई भने, “यदि त्यो सिकर्मी काममा फर्केर आउँदा त्यस दुष्ट आत्माले आक्रमण गरेर त्यसलाई मार्यो भने, त्यसको जिम्मेवार तपाईं हुनुहुनेछ । उसकी एउटी श्रीमती छे अनि धेरै बालबच्चाहरू छन् । उसलाई केही भएको खण्डमा उनीहरूको हेरचाह तपाईंले गर्नुपर्छ ।”
रेब भाइले जवाफ दिए, “उसलाई काममा फर्केर जाऊ भन्नुहोस् । ती भूत आत्माहरू फेरि आउनेछैनन् । मैले तपाईंलाई मेरो इलाकामा आउन मनाही गरेजस्तै मैले तिनीहरूलाई पनि मनाही गरेको छु ।” खुट्टाको घाउ निको भएपछि ती सिकर्मी काममा फर्केर आए र उनले त्यस्तो समस्या फेरि कहिल्यै पनि व्यहोर्नुपरेन ।
रेब भाइको अनुभवले यो देखाउँछ कि शैतानले हाम्रो सम्पत्तिलाई नाश गर्न खोज्यो भने, त्यसमाथि निश्चय नै हाम्रो अधिकार हुन्छ । जब हामी साहसका साथ शैतानको कामलाई बाँध्छौँ, तब त्यसले तुरुन्तै आफ्ना सबै क्रियाकलापहरू बन्द गर्नेछ ।
शैतानसँग परमेश्वरको सम्पत्तिमा असर पुर्याउने कुनै अधिकार छैन । तर हामी शैतानको इलाकामा हुँदाखेरी त्यसविरुद्ध हामीसँग कति अधिकार हुन्छ त ? अनाज्ञाकारिता, अनविज्ञता वा उत्सुकताका कारण तपाईं शैतानको इलाकामा प्रवेश गर्नुभयो भने, उफ्रिएर शैतान तपाईंमाथि आइलाग्नेछ । हो, तपाईं उसको इलाकामा हुनुहुँदा आफैँलाई शैतानको आक्रमणबाट बचाउन सक्नुहुन्न ।
विश्वासीहरूसँग आफ्नै इलाकामा शैतानमाथि अधिकार हुन्छ । त्यसैगरी, यदि उनीहरूले पवित्र आत्माको अगुवाइ र मार्गदर्शनअनुसार शैतानको इलाकामा सुसमाचार प्रचार गरिरहेका छन् भने, त्यति बेला उनीहरूसँग शैतानमाथि अधिकार हुन्छ ।
उदाहरणका लागि, मिसनरीहरूले सधैँ परमेश्वरको सुसमाचार लिएर शैतानको क्षेत्रलाई अतिक्रमण गरिरहेका हुन्छन् र उनीहरूसँग प्रभु येशूको नाउँमा त्यसमाथि अधिकार छ । तर यदि विश्वासीहरू अनाज्ञाकारितामा चलेका कारण वा परमेश्वरको ज्योतिको विरोधमा हिँडेका कारण शैतानको इलाकामा प्रवेश गरे भने, उनीहरूले शैतानलाई आफूमाथि आक्रमण गर्ने कानुनी अधिकार दिनेछन् ।
हो, हामीले शैतानको सामना गर्नुपर्छ । त्यसले अझै पनि अन्धकारमा शासन गर्छ र त्यसलाई यस संसारको देव भएर शासन गर्न हामी रोक्नसक्दैनौँ । तर हामीविरुद्ध रहेका त्यसका क्रियाकलापहरूलाई भने हामी रोक्नसक्छौँ ।
अनि हामी शैतानको अधिपत्यमा बसिरहनुपर्दैन भन्ने सत्यता हामी मानिसहरूलाई प्रचार गर्न सक्छौँ । बाइबलअनुसारको प्रार्थना र वचनको प्रचारद्वारा हामी मानिसहरूलाई अन्धकारको राज्यबाट निस्केर ज्योतिको राज्यमा वा परमेश्वरको राज्यमा प्रवेश गर्न मद्दत गर्न सक्छौँ । यसरी नै परमेश्वरका लागि बाइबलीय तरिकाले हामी कुनै शहर वा राष्ट्रलाई उलट-पुलट पारिदिनसक्छौँ !
***
(यो अनुच्छेद शब्द प्रकाशनद्वारा प्रकाशित केनथ ई. हेगनको पुस्तक ‘जयवन्त मण्डली’ बाट साभार गरिएको हो । यस विषयमा थप ज्ञानका लागि उक्त पुस्तक अध्ययन गर्नुहोस् ।)