A Decrease font size. A Reset font size. A Increase font size.

शारीरिक अभिलाषाका लागि शैतानलाई दोष नलगाउनुहोस्

        ‘शारीरिक’ शब्दको अर्थ के हो ? भाइन्सको नयाँ करारका शब्दहरूका वर्णानात्मक शब्दकोशअनुसार ‘शारीरिक’ शब्दको अर्थ यस्तो हुन्छ : शारीरिक सम्बन्ध अथवा त्यसप्रति प्रवृत्त गराउने; विलाशी; आहार, मैथुन आदिमा पशुगत स्वभाव भएको; परमेश्‍वरको आत्माको सट्टामा मानवीय स्वभावको अधीनमा रहेको  ।

                ख्रीष्‍टीयनहरू विश्‍वासद्वारा परमेश्‍वरको वचन तथा उहाँको आत्माको अगुवाइमा चल्नु आवश्यक छ– शारीरिक इन्द्रियहरूद्वारा होइन । एक जना विश्‍वासीले आफ्नो जीवनमा पवित्र आत्माका सबै दान-वरदानहरू सञ्चालन गर्दागर्दै पनि यदि उसले आफ्नो शरीर तथा प्राणलाई आत्माको अधीनमा राख्‍न सिकेको छैन भने, ऊ शारीरिक जीवन बाँचिरहेको पनि हुनसक्छ ।

                कोरिन्थीहरू त्यस्तै थिए । ती विश्‍वासीहरू आत्माले भरिपूर्ण थिए । यद्यपि, उनीहरू ख्रीष्‍टीयन जीवनको शिशु अवस्थामै थिए किनभने उनीहरू सांसारिक थिए; शरीर वा आफ्नो इन्द्रियहरूद्वारा शासित थिए (१ कोरिन्थी ३:१,३) ।

उनीहरूले पवित्र आत्मालाई होइन, आफ्ना इन्द्रियहरूलाई आफूमाथि शासन गर्न दिएका थिए ।

                पावलले  कोरिन्थीहरूलाई  भने,  “भाइ हो, तिमीहरूसँग बोल्‍दा आत्‍मिक जनहरूसँग बोलेजस्‍तै म बोल्‍न सकिनँ, तर सांसारिक मानिस, ख्रीष्‍टमा दूधे बालकसँग बोलेजस्‍तै म बोल्‍न सकें……तिमीहरू अझै सांसारिक नै छौ । किनकि जब तिमीहरूका बीचमा डाह र कलह छ, त के तिमीहरू सांसारिक चालमा चल्‍ने साधारण मानिसजस्‍ता भएनौ र ?”  (१ कोरिन्थी ३:१-३; ने.बा.सो. संस्करण) । अर्को ठाउँमा बाइबल भन्छ, किनकि जहाँ डाह र स्‍वार्थपूर्ण अभिलाषा हुन्‍छ, त्‍यहाँ भाँड़भैलो र हरेक किसिमको भ्रष्‍ट काम हुन्‍छ (याकूब ३:१६; ने.बा.सो. संस्करण) । 

                ख्रीष्‍टीयनहरूले आफ्नो आत्मालाई विकास गरेनन् तर शरीर, मन तथा भावनालाई आफ्‍नो आत्मामाथि शासन गर्ने अनुमति दिए भने, उनीहरू आत्मिक रूपमा सदा शिशु अवस्थामा नै रहन्छन् । शारीरिक ख्रीष्‍टीयनहरू ईर्ष्या, शत्रुता र फुटद्वारा सजिलै दुष्‍टका पासोमा पर्छन् ।

                अनि उनीहरू सजिलै शैतानको पासोमा फस्ने गरेका कारण केही ख्रीष्‍टीयनहरूचाहिँ उनीहरूबाट निरन्तर दुष्‍ट आत्माहरू निकालिरहनुपर्छ भन्‍ने ठान्छन् । तर उनीहरूबाट दुष्‍ट आत्मा निकाल्ने कुनै आवश्यकता छैन । वास्तवमा, उनीहरूले केवल आफ्नो प्राणको क्षेत्रमा विकसित एवम् वृद्धि हुनु तथा ईर्ष्या, शत्रुता र फुटप्रति कसरी समर्पित नहुने भनेर सिक्नु आवश्यक छ ।

                जसै तपाईं परमेश्‍वरको आत्माप्रति समर्पित हुन र शरीर तथा भावनामा नभएर परमेश्‍वरको वचनमा आफ्‍नो जीवन आधारित गर्न सिक्नुहुन्छ, तपाईं ख्रीष्‍टीयन जीवनको शारीरिक [अभिलाषाको] अवस्थाबाट बाहिर आउनुहुनेछ, जहाँ शैतानले तपाईंलाई अधीनमा राख्‍न सक्छ ।

                यदि तपाईं परमेश्‍वरको वचनमाथिको विश्‍वासको क्षेत्रमा हुनुहुन्छ भने, त्यहाँ शैतानको पहुँच हुँदैन । यद्यपि, इन्द्रियको क्षेत्रमा भने ऊ पुग्‍न सक्छ । तपाईं इन्द्रियको आधारमा चल्नुहुन्छ भने तथा शरीर र प्राणको अगुवाइमा हिँड्नुहुन्छ भने, त्यहाँ शैतानले तपाईंलाई सजिलै समात्‍न सक्छ ।

                मानिस जहिले पनि परमेश्‍वरले आफ्नो वचनमा प्रबन्ध गरिदिनुभएको कुरामा भरोसा गर्नुभन्दा अर्कै बहाना बनाएर अघि बढ्न खोज्छ । उदाहरणका लागि, परमेश्‍वरले आफ्नो वचनमा शैतानविरुद्धको शक्तिशाली सुरक्षा कवज निर्माण गर्नका लागि हामीले आफ्ना आत्मा, प्राण   शरीरका  लागि के गर्ने भनी निर्देशन दिनुभएको छ ।

                तर आत्मिक परिपक्वता, सफलता तथा हरेक परिस्थितिमा शैतानमाथि विजयी प्राप्त गर्न मानिसले जहिले पनि परमेश्‍वरले  देखाउनुभएको बाटोभन्दा भिन्‍न बाटो रोज्‍ने प्रयास गरिरहन्छ ।

                यदि मानिसले सबै कुराको दोष शैतानमाथि थुपार्नेजस्ता कुनै सजिलो बाटो पत्ता लगायो भने, ऊ परमेश्‍वरको वचनमा जिउन छाडेर त्यतैतिर लाग्‍नेछ ।

                नियमित रूपमा परमेश्‍वरको वचनद्वारा आफ्नो मनको नवीकरण गर्नु र शरीरलाई आत्माको अधीनमा राख्‍ने जिम्मेवारी लिनुभन्दा शैतानलाई निकाल्ने प्रयास गर्नु धेरै नै सजिलो हुन्छ ।

                मैले चिनेका एक जना प्रचारकले मानिसको सांसारिक स्वभावलाई राम्रोसँग बुझेका थिए । एक दिन उनले सूचना पाटीमा ‘त्यो पशु र म’ लेखेको देखे । त्यो दृश्यले उनलाई आफूले प्रचार गरिरहेको एउटा वचनको शीर्षक राख्‍न उत्साह दियो, जुन यस्तो थियो– ‘हामी सबैभित्र हुने त्यो पशु’ ।

                हामी सबैभित्र एउटा पशु छ भनेर के तपाईंलाई थाहा छ ? त्यो पशु तपाईंको शरीर हो– तपाईंको उद्धार नपाएको, अभिलाषायुक्त मानव स्वभाव । जबसम्म तपाईं यस पृथ्वीमा रहनुहुन्छ, तबसम्म तपाईंले त्यो अभिलाषायुक्त स्वभावलाई निरन्तर आत्माको अधीनमा राख्‍नुपर्छ ।

                यो अर्थमा, हामी सबैभित्र एउटा ‘पशु’ छ भनेर हामी भन्‍न सक्छौँ । उद्धार नपाएको मानव शरीरमा सांसारिक स्वभाव हुन्छ ।

                यद्यपि, यदि तपाईंले नयाँ जन्म पाउनुभएको छ भने, उक्त स्वभाव तपाईंको आत्मामा छैन । परमेश्‍वरलाई धन्यवाद भएको होस्, एक दिन तपाईंसँग पनि नयाँ महिमित शरीर हुनेछ (१ कोरिन्थी १५:४२, ५०-५४) । त्यो दिन नआइञ्जेल, परमेश्‍वरले हामीलाई हाम्रो शत्रु शैतानविरुद्ध कसरी दह्रो गरी खडा हुने भनी आफ्नो वचनमा सिकाउनुभएको छ ।

(यो अनुच्छेद शब्द प्रकाशनद्वारा प्रकाशित केनथ ई. हेगनको पुस्तक ‘जयवन्त मण्डली’ बाट साभार गरिएको हो । यस विषयमा थप ज्ञानका लागि उक्त पुस्तक अध्ययन गर्नुहोस् ।)