पवित्रशास्त्रमा धेरै पटक मानिसको शरीरलाई ‘घर’ वा ‘डेरा’ का रूपमा जनाइएको छ । तपाईंले यो कुरा जान्नु आवश्यक छ, दुष्ट आत्मा मानिसको घर अर्थात् शरीरमा बस्न सक्छ अनि कुनै मानिसको शरीरमा दुष्ट आत्मा छ भन्दैमा उसको आत्मा पनि दुष्ट आत्माले ग्रस्त छ भन्ने हुँदैन अर्थात् ती व्यक्ति पनि दुष्ट आत्माद्वारा ग्रसित छन् भन्ने हुँदैन किनकि मानिस आत्मा हो, शरीर होइन ।
उदाहरणका लागि, मानौँ तपाईं धमिरा लागेको घरमा बस्नुभएको छ । यसको अर्थ तपाईंलाई पनि धमिरा लागेको छ भन्ने होइन । त्यो घर त तपाईं बस्ने डेरा मात्र हो अनि धमिरा घरमा लागेको हुन्छ, तपाईंमा होइन । यस्तै, दुष्ट आत्माले तपाईंको शरीरलाई कष्ट दिने प्रयास गर्छ, सताउने प्रयास गर्छ तर यसको अर्थ तपाईं अर्थात् तपाईंको आत्मामा दुष्ट आत्मा छ भन्ने होइन ।
मानिसको शरीर ऊ बस्ने ‘डेरा’ हो भन्ने सत्यतालाई पवित्रशास्त्रले स्पष्ट पारेको छ । मानिसको भौतिक मृत्युमा उसको शरीर मर्छ तर ऊ अर्थात् उसको आत्मा त जीवितै रहन्छ ।
पावलले शरीरलाई ‘पार्थिव शरीर’ वा ‘पार्थिव डेरा’ भनेका छन् ।
२ कोरिन्थी ५:१,२, ४ (ने.बा.सो. संस्करण)
१. किनभने हामी जान्दछौं, कि हामीले वास गरेको यो पार्थिव शरीर [मानिसको शरीर] ढली गए तापनि स्वर्गमा अनन्तसम्म रहने परमेश्वरले दिनुभएको हाम्रो घर [मानिसको आत्मा] छ, जो हातले बनाइएको होइन ।
२. यहाँ वास्तवमा हामी व्याकुल बन्छौं, र स्वर्गीय डेरा धारण गर्ने उत्कट इच्छा गर्छौं,
४. किनकि यस डेरा [शरीर] मा हुँदा चिन्ताले हामी सुस्केरा हाल्छौं । हामी नाङ्गा होऔं भनेर होइन, तर अझ बढ़ी वस्त्र धारण गरौं भनेर हो, ताकि जो मरणशील छ त्यो जीवनमा समावेश होस् ।
बाइबलले यहाँ भित्री मानिस र बाहिरी मानिसको बारेमा कुरा गरिरहेको छ । बाहिरी मानिस हाम्रो शरीर अर्थात् हाम्रो पार्थिव घर हो । पावलले यहाँ भित्री मनुष्यत्वको पनि चर्चा गरेका छन्, जुन मानिसको आत्मा हो । यो हातले बनाइएको होइन; यो त अनन्त हुन्छ । पावलले भित्री मानिस र बाहिरी मानिसको भिन्नताको बारेमा चर्चा गरेका छन् ।
२ कोरिन्थी ४:१६ (ने.बा.सो. संस्करण)
१६. यसकारण हामी हरेस खाँदैनौं । हाम्रो बाह्य मनुष्यत्व नाश हुँदैगए तापनि हाम्रो आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ ।
आत्मिक मानिस वा भित्री मानिस र ‘भित्री हृदय’ एउटै हुन् ।
१ पत्रुस ३:३,४ (ने.बा.सो. संस्करण)
३. केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गारपटार [शारीरिक सिङ्गारपटार] नहोस् ।
४. तिमीहरूका भित्री हृदय [आत्मा] लाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान् छ ।
यसरी मानिसको शरीर उसको भित्री मानिसभन्दा भिन्न छ भनी तपाईं पावलले भनेका कुराबाट पनि बुझ्न सक्नुहुन्छ ।
१ कोरिन्थी ९:२७ (ने.बा.सो. संस्करण)
२७. तर म आफ्नो शरीरलाई कठोरतासाथ सधाउँछु, र यसलाई वशमा राख्तछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिँ अयोग्य ठहरिनेछु ।
१ कोरिन्थी ९:२७ (विक्लिफ नेपाली संस्करण)
२७. तर म आफ्नो शरीरलाई वशमा राख्छु र यसलाई दासजस्तै बनाउँछु, ताकि प्रचार गरेपछि म आफैँचाहिँ अयोग्य नबनूँ ।
पावलले आफ्नो शरीरलाई ‘यस[लाई]’ भनेका छन् । त्यसो भए, उनको शरीरलाई वशमा राख्ने ‘म’ चाहिँ को हो त ? ‘म’ त्यो भित्री मानिस हो, जो ख्रीष्ट येशूमा नयाँ भएको छ ! पावलले ‘यस’ र ‘म’ का बीचमा स्पष्ट भिन्नता देखाएका छन् । ‘यस’ भनेको पावलको शरीर हो भने ‘म’ भनेको स्वयम् पावल अर्थात् उक्त शरीरभित्र रहने आत्मा-पावल हुन् ।
पावलले यहाँ आफूले आफैँलाई अर्थात् भित्री मानिसलाई वशमा ल्याउने कुरा गरेका छैनन् । उनले त भित्री मनुष्यत्वले आफ्नो शरीरलाई वशमा ल्याउने कुरा गरेका छन् ।
पवित्रशास्त्रको यो खण्डको पालन नगर्नु नै विश्वासीहरूले शैतानलाई आफ्नो जीवनमा [अन्जानमै] प्रवेश गर्न दिने एउटा प्रमुख कारण हो । जब विश्वासीहरूले आफ्नो शरीरलाई नयाँ जन्म पाएको आत्माको सट्टामा आफूमाथि अधिपत्य गर्न दिन्छन्, तब शैतानले मानिसको जीवनमा आफ्नो पाइला राख्छ ।
(यो अनुच्छेद शब्द प्रकाशनद्वारा प्रकाशित पुस्तक केनथ ई. हेगनको पुस्तक ‘जयवन्त मण्डली’ बाट साभार गरिएको हो । यस विषयमा थप ज्ञानका लागि उक्त पुस्तक अध्ययन गर्नुहोस् ।)