छुट्कारामा शारीरिक चिन्ह देखिन्छ नै भन्‍नेछैन

आजकल सिकाइने अर्को उग्र शिक्षा यो हो– छुट्कारा प्राप्त भयो भनेर जान्‍नका लागि दुष्‍ट आत्मा निस्केर गएको कुनै न कुनै प्रमाण वा चिन्ह देखिनै पर्छ । कोही मानिसहरू सँधै केही न केही चिन्ह हेर्न खोजिरहेका हुन्छन् । केही विश्‍वासीहरू पवित्र आत्माको प्रकटीकरणभन्दा भूत आत्माहरूको प्रकटीकरण हेर्न धेरै इच्छुक हुन्छन् !

                केही सेवकहरूले यस्तो सिकाउँछन्– मानिसहरूले भूत आत्माबाट छुट्कारा पाउनका लागि बान्ता गर्नै पर्छ वा खकार थुक्नुपर्छ वा अन्य प्रकारका चिन्ह देखाउनै पर्छ  । यो नयाँ शिक्षा हो भनी धेरैले सोच्छन्, तर ‘द भ्वास अफ हिलिङ्’ को समयमा पनि एक पटक यो अभियान सुरु भएको थियो । मैले अघि नै भनेँ, यी त्रुटि तथा छलहरू चक्रीय शैलीमा सञ्चालन भएझैँ देखिन्छ किनभने शैतान त्यही पुरानो धोकेवाज हो ।

                मलाई गलत तरिकाले नलिनुहोस् । कहिलेकहीँ भूत आत्माले मानिसलाई छाडेर जाँदा केही मानिसहरूमा चिन्ह तथा अन्य परिवर्तनहरू देखिनसक्छ । उदाहरणका लागि, गूँगो र बहिरो आत्मा लागेको एउटा बालकलाई छाडेर जाँदा भूत आत्माले आफैँलाई प्रकट गरेको थियो, “अनि चिच्याएर त्यस केटालाई साह्रै लछारपछार पारी त्यो आत्मा निस्कयो… ”  (मर्कूस ९:२६) ।

                यद्यपि, जब १९५२ को दर्शनमा प्रभु येशू मकहाँ प्रकट हुनुभयो । उहाँले स्पष्‍ट रूपमा मलाई भन्‍नुभयो, “शैतानको सामना गर्ने क्रममा कसैलाई पनि बान्ता गरेर वा खकार थुकेर भूत आत्मा निकाल्ने आज्ञा नदेऊ । खकार थुकेर वा बान्ता गरेर भूत आत्मा कहिलेकहीँ निस्कन पनि सक्छ । यदि त्यसरी निस्कियो भने, ठीकै छ तर भूत आत्माबाट छुट्कारा पाउनका लागि कुनै निश्चित शारीरिक चिन्ह हुनै पर्छ भनेर कसैलाई पनि नसिकाऊ । यदि तिमीले शारीरिक चिन्ह देखापर्नेछ भनी कुनै मानिसलाई सिकायौ भने, तिनीहरू त्यही चिन्हको प्रतीक्षामा बस्नेछन् अनि भूत आत्माबाट छुट्कारा पाउनुको सट्टा उनीहरूले आफूभित्र कुनै एउटा भूत आत्मालाई प्रवेश गराउनेछन् ।”

                हेर्नुहोस्, मानिसहरू यहीँ चुकिरहेका छन् । भूत आत्मा कुनै मानिसको मन वा शरीरबाट निस्केर जाँदा एक पटक कुनै शारीरिक प्रकटीकरण देखियो भन्दैमा हरेक पटक भूत आत्मा निस्कँदा यस्तै चिन्हहरू देखिन्छन् भनी मानिसहरू सोच्छन् । त्यसैले उनीहरू भूत आत्माबाट छुट्कारा पाउनका लागि मानिसलाई बान्ता गर्न वा खकार थुक्न लगाउँछन् । सेवकहरूले यसो गरेको मैले देखेको छु । उदाहरणका लागि, म एउटा सभामा सहभागी भएको थिएँ । उक्त सभामा एक जना सेवकले सभालाई यसरी सम्बोधन गरे, “अर्को सभामा आउँदा सबै जनाले एउटा कागजको झोला ल्याउनुहोला ।” सबै विश्‍वासीहरूले झोला लिएर आएको ती सेवक चाहन्थे ताकि उनीहरूले त्यस झोलामा दुष्‍ट आत्मा बान्ता गर्न सकून् !

                तर तपाईं एक प्रकटीकरण वा अनुभवको आधारमा नयाँ शिक्षा निर्माण गर्न र सधैँ त्यस्तै नै हुनेछ भनेर मानिसहरूलाई सिकाउन सक्नुहुन्‍न । नयाँ करार अध्ययन गर्दा, मानिसले बान्ता गरेर वा खकारद्वारा दुष्‍ट आत्मा फालेको एउटा उदाहरण पनि पाउन सक्नुहुन्‍न र यस्तो शिक्षा तथा अभ्यासलाई समर्थन गर्नका लागि तपाईंले बाइबलीय आधार भेट्न सक्नुहुन्‍न ।

                अरू विश्‍वासीहरूमा दुष्‍ट आत्मा देख्दै यता-उता गइरहने विश्‍वासीहरूले आज स्थानीय मण्डलीमा आतङ्क मच्चाइरहेका छन्; मण्डलीमा विध्वंस मच्चाइरहेका छन् । मैले यस्ता केही व्यक्तिहरूको समाना गरेको छु, जो यो उग्र शिक्षाका कारण शैतानप्रति यति सरोकार राख्‍न थाले कि उनीहरूले आफ्नो जीवनमा दुष्‍ट आत्मालाई प्रवेश गराए । प्रत्येक विश्‍वासीमा दुष्‍ट आत्मा हुन्छ, यसलाई नियमित रूपमा निकाल्नुपर्छ र हरेक पल्ट दुष्‍ट आत्मा निस्केर जाँदा केही न केही चिन्ह तथा प्रकटीकरण अवश्य देखिन्छ भनेर जब विश्‍वासीहरूलाई सिकाइन्छ, यसले वास्तवमा उनीहरूको जीवनमा शैतानका लागि ढोका खोल्छ ।

                हेर्नुहोस्, शैतान यस संसारको ईश्‍वर हो (२ कोरिन्थी ४:४) । यसकारण त्यसले आफैँलाई भौतिक तथा शारीरिक क्षेत्रमा प्रकट गर्न सक्छ । मानिसहरूले आफ्ना ज्ञानेन्द्रियहरूद्वारा अनुभव गर्ने कुराको आधारमा शैतान मानिसको शरीरमा काम गर्न सक्छ । अर्को शब्दमा, मानिसहरूले स्वभाविक दुनियाँमा के देख्छन्, अनुभव गर्छन् वा महसुस गर्छन् भन्‍ने आधारमा शैतानको क्षेत्र तथा प्रभुत्‍व आधारित हुन्छ ।

                यद्यपि, विश्‍वास तपाईंले देख्‍ने कुरामा आधारित हुँदैन । परमेवरको वचनले के भन्छ भन्‍ने कुराको आधारमा विश्‍वास आधारित हुन्छ । प्रभु येशूले आफ्ना वचनद्वारा दुष्‍ट आत्मा निकाल्नुभयो भनेर बाइबल बताउँछ (मत्ती ८:१६) ।

                त्यसैले यदि तपाईंले दुष्‍ट आत्माबाट छुट्कारा पाउँदा कुनै न कुनै प्रकारको शारीरिक चिन्ह देखिनै पर्छ भनेर मानिसहरूलाई सिकाउनुभयो भने, तपाईंले उनीहरूलाई कसरी दुष्‍ट आत्माप्रति सर्मपित हुने भनेर सिकाइरहनुभएको हुन्छ किनभने शैतान शारीरिक क्षेत्रमा क्रियाशील हुन्छ ।

                दुष्‍ट आत्माबाट छुट्कारा पाउन शारीरिक प्रकटीकरण सिर्जना गर्ने प्रयास गर्नुको सट्टा मानिसहरूलाई वचनले के भनेको छ, सो सिकाउनुहोस् । यसरी उनीहरूले पवित्र आत्माप्रति कसरी समर्पित हुने भनी सिक्नेछन् । जब मानिसहरू पवित्र आत्माप्रति समर्पित हुन्छन्, तब उहाँले आफैँलाई प्रकट गर्नुहुनेछ । आउनुहोस्, भूत आत्माको सवालमा सडकको किनारमा होइन बीचमा चलौँ र परमेश्‍वरको वचनमा अडिएर बसौँ !

(यो अनुच्छेद शब्द प्रकाशनद्वारा प्रकाशित केनथ ई. हेगनको पुस्तक ‘जयवन्त मण्डली’ बाट साभार गरिएको हो । यस विषयमा थप ज्ञानका लागि उक्त पुस्तक अध्ययन गर्नुहोस् ।)